Odapalika - The Fourth Estate - चौथो अंग
बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध

काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ। 

अवरोध ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीय माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खुलेको हो। मन्त्री घिसिङ आइतबार बिहान सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट, धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोलीसहित बन्चरेडाँडा पुगेका थिए।

स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतका सहमति र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै १५ दिनको समय माग गरेका थिए। उनले भने, “अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग होइन, वार्ता र संवादबाट सौहाद्रपूर्ण समाधान खोज्छौं।”

सरकारले तत्कालीन रूपमा लिच्चड व्यवस्थापनका लागि सबै सरोकारवाला निकाय समावेश समिती गठन गर्ने, बिग्रिएको पम्प मर्मत गरी रिसाइकल प्रक्रिया सुरु गर्ने र रात्रीकालीन फोहोर व्यवस्थापनका लागि साइटमा बत्ती राख्ने निर्णय गरेको छ।

फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न ठाउँमा पहिचान गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउने र पूरक वातावरणीय प्रभाव मूल्यांकन पछि प्रभावित क्षेत्र पहिचान गरी जग्गा अधिग्रहण अघि बढाउने योजना बनाएको छ।

दीर्घकालीन समाधानका लागि लगानी बोर्डले अघि बढाएको कानुनी अड्चन मेयर्स फोरममार्फत समाधान गरिने मन्त्री घिसिङले बताएका छन्। प्रभावित स्थानीय प्रतिनिधिहरूले विगतका सहमति कार्यान्वयन नगर्दा समस्या दोहोरिने गरेको बताउँदै दीर्घकालीन योजना तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update