Odapalika - The Fourth Estate - चौथो अंग
सगरमाथामा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको बाटो खुल्दै

सोलुखुम्बु : कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ। न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ। 

विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ। यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए।

खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए। उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको हो। यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ।

सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोेलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुनेगरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ। 

बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन गर्नेगरी तयारी भइरहेको विभागका निर्देशक गौतमले जानकारी दिए। ‘विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ’, उनले भने, ‘यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन।’

फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए। 

‘सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ। बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन्। तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ’, विभागका निर्देशक गौतमले भने।

सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो। यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए। नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अन्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ। 

सोही बाटो हुँदै ७२ वर्षअघि तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए। यही पुरानो मार्गलाई पुनःजीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए।
 
उनका अनुसार आगामी वसन्तयाम (स्प्रिङ सिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ। काजीले भन्नुभयो, “यो केबल हिमाल आरोहणको बाटो होइन। यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तरराष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ। अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ। बाँकी काम आगामी मार्च–अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ।’

सरकारद्वारा अनुमति प्राप्त

सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ। सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकरी दिए।

चार लाख अमेरिकी डलरको अनुमानित लागत

यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए। बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ।

‘मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ। यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ’, शेर्पाले भने।

नयाँ बाटोः कम जोखिम, बढी सुरक्षा

नयाँबाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ। खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ। जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ। आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए। 

उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्छन्। खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ। 

अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकार बताउँछन्। पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, ‘यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ।’ 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update