काठमाडौं । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालको प्रत्यर्पण माग गरेको छ । दुवै हाल भारतमा बसिरहेका छन् ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
फैसलापछि सोमबार बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलाअनुसार फरार शेख हसिना र असदुज्जमान खान कमाल दोषी सिद्ध भएका छन् । मानवताविरुद्धका अपराधका लागि दोषी ठहरिएका यी व्यक्तिहरूलाई कुनै पनि देशले शरण दिएमा त्यो मित्रतापूर्ण व्यवहार र न्यायको अवमूल्यनको गम्भीर कार्य हुनेछ ।”
बंगलादेशको विदेश मन्त्रालयले अगाडि भनेको छ, “हामी दुवैलाई तुरुन्तै भारत सरकारले बंगलादेशलाई सुम्पियोस् भन्ने चाहन्छौँ । दुवै देशबीच रहेको प्रत्यर्पण सम्झौताअनुसार यो भारतको दायित्व हो ।”
बंगलादेशले यसअघि पनि धेरैपटक आधिकारिकरूपमा शेख हसिनालाई फिर्ता गराउन अनुरोध गर्दै पत्र पठाएको थियो । तर, भारतले ती अनुरोधहरूको कुनै प्रतिक्रिया दिएको थिएन ।
पत्रकारहरूको प्रश्नको जवाफमा बंगलादेशका विदेश मामिला सल्लाहकारले उनीहरूलाई फिर्ता गराउन धेरै पत्र पठाइसकेको तर भारततर्फबाट कुनै सकारात्मक प्रतिक्रिया नआएको बताएका छन् ।





