काठमाडौँ । निर्वाचन आयोगले स्थानीय सरकारहरुलाई चुनावको प्रचार प्रसार गरिदिन आग्रह गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्नको लागि प्रचार प्रसार गरिदिन आयोगले आग्रह गरेको हो ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत देशभरका स्थानीय सरकारहरुलाई यस्तो आग्रह गरेको छ ।
‘प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट भएका व्यक्तिहरुलाई निर्वाचन कार्यालयमा नाम दर्ता तथा अद्यावधिक गर्न गराउन स्थानीय तहबाट प्रचार प्रसार र आवश्यक सहजीकरण गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने’ आयोगले गरेको निर्णयमा उल्लेख छ ।
आयोगबाट यस्तो निर्णय भएर आएपछि सो अनुसारको व्यवस्था मिलाउन मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।





