जुम्ला- कनकासन्दुरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको छ ।
प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सुविधायुक्त पक्की भवन निर्माण भई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। उक्त वडाका स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण भएको हो ।
विसं २०६८ मा स्थापना भएको प्रहरीचौकीमा लामो समयपछि पक्की कार्यालयबाट सेवा प्रवाह दिन थालिएको छ । कनकासुन्दरी क्षेत्र तथा रारा जाने पर्यटकको शान्तिसुरक्षा तथा ट्राफिक व्यवस्थापनको काम उक्त प्रहरीचौकीले गर्दै आएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए।
कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले प्रहरीको आन्तरिक स्रोतअन्तर्गत रु चार करोडको लागतमा सुविधायुक्त भवन निर्माण गरिएको बताए।
गाउँपालिकाबाट आवश्यक सहयोग सधैँ गरिने अध्यक्ष दामोदर आचार्यको भनाइ छ । जिल्लाका आठवटै स्थानीय तहमा प्रहरीचौकी १३, अस्थायी प्रहरीचौकी छ, एक इलाका प्रशासन, जिल्ला ट्राफिक कार्यालय, कारागार, विमानस्थललगायत गरी २९ प्रहरी युनिट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







