चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन् ।
भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताएकी हुन् ।
‘ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ,’ उनले भनिन् ।
अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनको भनाइ छ ।
अहिले मन्त्रालयले विषयगत रूपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनले जानकारी दिइन् ।
मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको बताइन् । सुधारका क्षेत्रमा स्वास्थ्य बिमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उनको भनाइ छ ।
‘हामीले प्रतिवेदन तयार पारी कार्ययोजना बनाइरहेका छौँ । शीघ्र यसको नतिजा आउने छ,’ मन्त्री गौतमले भनिन् ।
बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालमा भएका सुविधा र अस्पतालको समस्याका बारेमा जानकारी दिए ।
ट्रमासेन्टर निर्माणका लागि ११ करोड रुपैयाँ खर्च भएको जनाउँदै समितिका अध्यक्ष पौडेलले उपकरणका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार सेन्टर अहिले १५ श्ययाबाट सुरु गरिएको छ भने आगामी दिनमा ५० श्यया पुर्याउने लक्ष्य राखिएको छ ।







