काठमाडौँ । भारतको गोवास्थित एक नाइट क्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए ।
गोवा प्रहरीका अनुसार घटनामा नेपाली नागरिकमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङ डडेलधुराका मनोज जोराको मृत्यु भएको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ काम गर्न बसेका अन्य स्थानीय नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी भइरहेको छ । यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया सकेको छ ।
गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शवलाई एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पु¥याउने व्यवस्था गरिएको छ । अन्यको हकमा पनि थप पहल जारी रहेको र त्यहाँ रहेका नेपालीले आर्थिक जोहोसमेत गरेर शव पठाउने व्यवस्थामा सघाइरहेका छन् ।






