भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँने भन्दै सवारी साधनलाई करमाथि कर थोपरेको छ ।
गाउँपालिकाको सभाले पारित गरेको राजस्व ऐन कार्यान्वयन गर्न सवारी साधानको प्रवेश गर्दा पटके कर लिन लागिएको हो । यस्तो करमा एक पटक प्रवेश गर्दा ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको आर्थिक आधार बलियो बनाउने उद्देश्यले राजस्व चुहावट नियन्त्रण अभियान सञ्चालन गरेर सवारी साधनसँग कर लिन थालिएको हो ।
गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । उनका अनुसार हाल गाउँपालिकामा उपलब्ध प्राकृतिक, पर्यटकीय तथा आर्थिक स्रोतको पहिचान गर्दै त्यसलाई आम्दानीसँग जोड्ने कामलाई प्राथमिकता दिइएको छ ।
‘जनतालाई दिने सेवासुविधालाई सहज बनाउँदै गाउँपालिकाको आन्तरिक स्रोत बलियो बनाउने अभियानमा जुटेका छौँ । आन्तरिक स्रोत मजबुत भएमा मात्र स्थानीय सरकार आत्मनिर्भर र सक्षम बन्न सक्छ । त्यसका लागि यहाँका स्रोतसाधनको व्यवस्थित उपयोग आवश्यक छ,’ अध्यक्ष राईले भने ।
गाउँपालिकामा वनजन्य स्रोत, सवारी तथा ढुवानी साधन, ढुङ्गा, गिट्टी, बालुवा, स्थानीय बजार तथा व्यवसायबाट सङ्कलन हुने राजस्वलाई व्यवस्थित गर्ने लक्ष्यले नियन्त्रणका लागि कडाइ गरिएको उनले बताए । राजस्व चुहावट हुने सम्भावित क्षेत्रको अनुगमन बढाइने र नियमविपरीतका गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने अध्यक्ष राईको भनाइ छ ।
आन्तरिक स्रोत वृद्धि गर्न गाउँपालिकाले पूर्वाधार करअन्तर्गत विभिन्न सवारीसाधन तथा वस्तु ढुवानीमा करका दर निर्धारण गरेको छ ।
अध्यक्ष राईका अनुसार बाहिरबाट आउने दशचक्के ट्रकलाई एकपटकको ढुवानीमा १हजार ५ सय, छचक्के सवारीलाई १ हजार, मसला तथा फलफूल ढुवानीमा एकपटकको ४ सय, ठूला बसलाई वार्षिक ३ हजार, ट्याक्सीलाई वार्षिक १ हजार ५ सय र बाहिरबाट आउने ठूला ट्रकलाई एकपटकको ३ हजार रुपैयाँ कर तोकिएको छ ।







