Odapalika - The Fourth Estate - चौथो अंग
पुस ९ गतेसम्म काठमाडौँ महानगरको खर्च १८.४८ प्रतिशत मात्रै, कुन वडाले कति गरे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको झण्डै ६ महिना (पुस ९ गतेसम्म) मा १८.४८ प्रतिशत मात्रै खर्च गरेको छ ।

उपमेयर सुनिता डंगोलले महानगरको १८औं अधिवेशनमा दिएको जानकारी अनुसार पुस ९ गतेसम्म ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैया खर्च भएको छ । जुन कूल विनियोजनको १८.४८ प्रतिशत हो । महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको वजेट स्वीकृत गरी कार्यान्वयन ल्याएको थियो ।

यो खर्चमध्ये चालू खर्च २८.४४ प्रतिशत र पुँजीगत खर्च १२.३९ प्रतिशत भएको छ । हालसम्म पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र तर्फ १२.०६ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सवैभन्दा वढी ४५.९९ प्रतिशत खर्च भएको छ । 

विभागगत रुपमा हेर्दा प्रशासन विभागले कुल विनियोजित वजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । जसमा चालूतर्फ ४८.१८ प्रतिशत र पुँजीगततर्फ १०.२३ प्रतिशत खर्च गरेको छ । त्यसैगरी आन्तरिक लेखा परीक्षण एकाईको खर्च प्रतिशत ३८.७२ प्रतिशत भएको छ भने हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमको २७.७३ प्रतिशत रकम खर्च भएको छ । अन्तराष्ट्रिय सम्वन्ध सचिवालयको २४.७९ रहेको छ । 

वडागत रुपमा हेर्दा वडा नं. ७ ले सवैभन्दा वढी खर्च गरेको छ । सो वडाले चालू खर्च शिर्षकमा २४.९२ प्रतिशत र पुँजीगत खर्चमा ३२.३३ प्रतिशत खर्च गरी समग्र कुल ३१.५३ प्रतिशत खर्च गरेको छ । वडा नं. १६ ले ंकुल समग्र खर्च २६.१४ प्रतिशत खर्च गरेको छ भने वडा नं. २३ ले २३.३१ प्रतिशत खर्च गरेको छ । वडा नं. १४ र वडा नं. १९ ले क्रमश २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेको उपमेयर डंगोलले जानकारी दिइन् ।

महानगरले चालु आर्थिक वर्षमा १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको छ । त्यसमध्ये आन्तरिक आयको लक्ष्य १० अर्ब १२ करोड ६४ लाख रुपैया रहेको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने लक्ष्य ४ अर्ब ४ करोड ३४ लाख रुपैया अनुमान गरिएको थियो । 

चालू आर्थिक वर्षको पुस ९ गतेसम्म ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमा आन्तरिक आयतर्फ २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजश्व वाँडफाँडवाट ७७ करोड ९९ लाख ८० हजार र संघ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षको पुस ९ गतेसम्म महानगरले कुल वार्षिक आम्दानी लक्ष्यको २७.८६ प्रतिशत गरेको छ । आन्तरिकतर्फ कुल लक्ष्यको २६.४४ प्रतिशत प्रगति भएको छ ।

वार्षिक खरिद योजना, चौमासिक प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८२।०८३ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको उपमेयर डंगोलले बताइन् । विनियोजित वजेटहरुमा कुनै योजना संचालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधि अनुसार समय लाग्ने, कतिपय वहुवर्षीय योजना अन्तर्गत संचालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको र केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकोले संशोधन गर्नपरेको उनको भनाइ छ ।

उपमेयर डंगोलले संशोधन प्रस्ताव तयार गर्दा स्वीकृत कूल बजेट रकम, चालू खर्च रकम  तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापहरुमा मात्र संशोधनको प्रस्ताव पेश गरेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update