पोल्यान्ड- युरोपेली मुलुक पोल्यान्डमा रहेका नेपालीले यहाँ नेपाली राजदूतावास स्थापना गर्न माग गरेका छन्।
एनआरएनए डोनोलस्की क्षेत्रीय समिति पोल्यान्डले जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनमार्फत नेपाल सरकारसँग दूतावास माग गरेको हो।
दूतावासले पोल्यान्डको भ्रोस्वाव सहरमा जनवरी २ देखि सञ्चालन गरिरहेको राहदानी घुम्ती शिविरको अन्तिम दिन शिविरको समन्वय गरेको एनआरएनए क्षेत्रीय समिति डोनोलस्कीले पोल्यान्डमा नेपाली दूतावास स्थापना गर्न मागसहित सोमबार ज्ञापनपत्र बुझाएको हो।
राजदूतावास माग गरिएको ज्ञापनपत्र एनआरएनए क्षेत्रीय समिति डोनोलस्कीका अध्यक्ष दीपेन्द्र अधिकारी तथा सचिव स्मृती खड्काले दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाललाई बुझाएका हुन्।
ज्ञापनपत्रमा करिब २० हजार नेपाली रहेको पोल्यान्डमा राहदानीलगायत कन्सुलर सेवा सहज रूपमा पाउन दूतावास अति आवश्यक रहेको उल्लेख छ।
'पोल्यान्डमा नेपाली रादूतावास स्थापना गर्न अनुरोध गर्दै पेस गरेको यो ज्ञापनपत्र नेपालको सम्बन्धित निकायमा पुर्याउने विश्वास दिलाउन चाहन्छु', ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत फुयालले भने।
दूतावास नभएकै कारण कागजी प्रमाणीकरण, परिवार ल्याउने कामलगायत सामान्य कागजी प्रक्रियाका लागि पनि नयाँ दिल्लीस्थित पोल्यान्ड दूतावास धाउनुपर्ने बाध्यता छ।
साथै पोल्यान्डमा रहेका नेपाली राहदानीलगायत कागजी प्रक्रियाका लागि बर्लिनस्थित नेपाली दूतावास जर्मनी नै पुग्नुपर्ने अथवा घुम्ती शिविर नै कुर्नुपर्ने बाध्यता छ।
बर्लिनस्थित नेपाली राजदूतावास जर्मनीले १० वटा देशमा सेवा दिनुपर्ने अवस्था छ।





