Odapalika - The Fourth Estate - चौथो अंग
भेरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली । बाघको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–५, सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गंगा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

मृतक सारुका श्रीमान् नरबहादुर सारुका अनुसार, गंगा मंगलबार बिहान ८ बजे घरबाट कसैलाई जानकारी नदिइ बाहिर निस्केकी थिइन् ।

बुधबार बिहान ९ बजेको समयमा सारुको दुई नातिनीले घरदेखि १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा उनले लगाएका कपडा चप्पलसहित सोही स्थानमा रगत देखेका थिए । करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको भेटिएको भनी १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा जानकारी गराएका थिए । 

उक्त जानकारीपश्चात् प्रहरी, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसहितको २०/२५ जनाको टोली खटिएको थियो । 

खोजतलासका क्रममा महिलाको टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भाग फेला परेको प्रहरी उपरीक्षक शाहीले बताए । उनका अनुसार, बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा शरीर फेला परेको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update