काठमाडौँ । चितवनको कालिका नगरपालिका वा वडा कार्यालयहरुबाट भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह लगायतका विषयमा केही भन्नु छ भने आगामी चैत ४ गते वडा नं. २ मा रहेको महिला संजाल भवनमा जानु भए हुन्छ ।
नगरपालिकाले सो दिन सार्वजनिक सुनुवाई गर्ने भएकोले नागरिकले पनि आफ्ना सुझाव, गुनासा, सल्लाह, पिरमर्का जस्ता सबै विषय सो सार्वजनिक सुनुवाईमा राख्न पाउने भएका हुन् । सार्वजनिक सुनुवाई दिउसो १ बजे सुरु हुने सुचना अधिकारी प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगर कार्यापालिका र वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षमा सम्पादन भएका कार्यहरुको बारेमा सेवाग्राहीको राय बुझ्ने तथा सेवाग्राहीमा परेको असुविधाप्रति उचित सम्बोधन गर्ने उदेश्य राखिएको सुचना अधिकारी पौडेलले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा समितिका पदाधिकारीहरु, उपभोक्ता समितिका पदाधिकारीहरु, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, बजार व्यवस्थापन समितिका पदाधिकारीहरु, सामाजिक अभियन्ताहरु, नागरिक समाज, नगरका विषयमा जानकारी राख्ने नगरबासी तथा आमसर्वसाधारणलाई बोलाइएको नगरपालिकाको भनाइ छ ।







