कालिका नगरपालिकाले उन्नत गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने, यस्तो छ लिने प्रक्रिया

 

काठमाडौँ । चितवन जिल्लाको कालिका नगरपालिकाले गहुँको उन्नत बीउ खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गहुँको उन्नत बीउ खरिदमा किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।

नगरपालिकाले यसको जानकारी सार्वजनिक सुचना प्रकाशन गरेर पनि दिएको छ । भदौ ८ गते प्रकाशित सुचनामा संघीय सरकारबाट सशर्त हस्तान्तरित खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रमअन्तर्गत गहुँको उन्नत बीउ वितरण गर्न लागेको जनाएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक किसान, किसान समूह तथा कृषि सहकारीबाट गहुँको बीउको माग संकलनका लागि नगरपालिकाले आवेदन आह्वान गरेको छ। नगरपालिकाका अनुसार गहुँ खेती गर्न इच्छुक किसानले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

कृषक समूह वा कृषि सहकारीका सदस्य नरहेका किसानले नजिकैको कुनै पनि कृषि सहकारीमार्फत समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले उपलब्ध गराउने उन्नत गहुँका बीउमा भुकुटी, गौतम, आदित्य, एनएल ९७१, विजय, तिलोत्तमा, बाणगंगा, बीएल ४३४१, जिज गहुँ–१, जिज गहुँ–२ र बोलोगोरा–२०२० लगायतका जात समावेश छन्।

सूचनाअनुसार उन्नत बीउको मूल्य प्रतिकेजी ७६ रुपैयाँ तोकिएको छ भने बीउ बिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार कायम हुने मूल्यको ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।

आवेदन दिने किसानले कार्यालयबाट उपलब्ध गराइएको ढाँचामा निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र गहुँ लगाउने जग्गाको लालपुर्जा पेश गर्नुपर्नेछ।

त्यस्तै, किसान समूह तथा कृषि सहकारीले निवेदनसँगै संस्था दर्ता प्रमाणपत्र, संस्थाको निर्णयको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस पत्र तथा कृषकले पेश गरेका कागजातहरू संलग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले यो कार्यक्रमबाट गहुँ खेती गर्ने किसानलाई उन्नत बीउमा पहुँच बढाउनुका साथै उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update