रविन्द्र दाइ नमस्ते !
तिमी ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउनु पर्छ भनेर दाम्लो चुडाएर हिडेका रहेछौं । त्यसैले लेखेर तिमीलाई केही सन्देश दिन मन लाग्यो ।
तिमी मलाई चिन्दैनौं जस्तो लाग्छ । हाम्रो अहिलेसम्मको एकमात्र भेट सन् २०१० को जनवरी महिनामा भएको थियो । त्यतिबेला तिमी विविसी नेपाली सेवामा काम गथ्र्याै । अफिस ज्ञानेश्वरमा थियो । मेरा अनन्यमित्र डा. दिपेश घिमिरे जो अहिले त्रिवि केन्द्रीय क्याम्पसमा समाजशास्त्र विषयको अध्यापन गराउँछन्, उनको र तिम्रो भेट हुने तय भएको रहेछ । त्यही मेसोमा मेरोपनि भेट भएको थियो ।
हामी ज्ञानेश्वरको आँगन मिठाई पसलमा भेट्यौं । छोला भटोरा खायौं । पैसा तिमीले नै तिर्यौ है रविन्द्र दाइ ।
१२ वर्षअघि जम्मा एक पटक भेटेको मान्छेलाई तिमीले चिन्छौ भन्ने मलाई लाग्दैन । त्यसैले यो चिनापर्चीतिर नलागौं ।
दाजु ! तिमी राजा ल्याउनतिर लागेछौ । तिम्रो यो अभियानलाई म शुभकामना भन्न सक्दिनँ । किनभने मलाई त मान्छे नै हुन मन छ । प्रजा होइन, नागरिक भैरहने चाहना छ । राजा आएपछि मान्छे होइन, दास बनाउँछन् । नागरिक होइन, प्रजा बनाउँछन् । हो, रविन्द्र दाइ, २०५८ देखि २०६२ सम्म हामीले भोगेको यही हो ।
दाजु, तिमी राजा ल्याउने अभियानमा लागेछौ । र, तिम्रो राजा ज्ञानेन्द्र शाह हुने रहेछन् भन्ने थाहा भयो । तिमीले यसपालीको दशैंको टिका ज्ञानेन्द्र शाहको हातबाट थाप्दै भनेछौं– सरकार ! अर्काे दशैँमा नारायणहिटी दरबारमा टिका लगाउन पाइयोस् ।
रविन्द्र दाजु, नारायणहिटी दरबार ज्ञानेन्द्र शाह नाम गरेका एक जना नेपालीको घरमा सिमित रहोस भन्ने चाहना तिमीमा देखियो । यो गलत हो । नारायणहिटी दरबारमा ज्ञानेन्द्र शाहको कुनै अधिकार छैन । त्यो त नेपाल सरकारको स्वामित्वको सम्पत्ती हो । नेपाली जनताको करबाट खडा भएको अचल सम्पत्ती हो । र, नारायणहिटी दरबार तिम्रो वा तिम्रा पिताजीको हवेली पनि होइन दाइ ।
तिमीलाई राजा चाहिएको रहेछ भन्ने लाग्दैन । तिमीलाई ज्ञानेन्द्र शाह राजा हुनुपर्छ भन्ने लागेको छ । यो त ज्ञानेन्द्रप्रति तिम्रो आग्रह न हो । साच्चै भनौं दाइ ! बजारमा ज्ञानेन्द्रको दुइटा चिज मात्रै चल्छ । एउटा– उनी पहिलो पटक राजा हुँदाको उनको नाममा काटिएको मोहोर र अर्काे त्रिशारामा रातिराति दिने उनको डान्स । उनको नामको मोहोर महंगोमा विक्दो रहेछ बजारमा । र, त्रिशाराको डान्स टिकटक बनाउन काम लाग्दो रहेछ ।
अरु के छ ज्ञानेन्द्रसँग ? राष्ट्रिय एकताको प्रतिक भन्छौ तिमी । त्यो होइन दाजु । सक्छौं भने ज्ञानेन्द्रलाई आफ्नो परिवार पहिला संहाल भनेर सुझाव दिनु ।
यिनीसँग भिजन छ भन्ने लाग्छ भने त्यो बेकारको कुरा हो । तिमीलाई थाहा छैन होला, हामीले त भोग्यौं २०५८ देखि २०६२ सम्म पूरा ४ वर्ष । त्यो ४ वर्षमा यिनले ब्रिटिस अंग्रेजी उच्चारणशैलीको नेपालीमा भाषण दिए, देशभर अभिनन्दन खादै हिडे । देशभर संकटकाल लगाए । रातिराति सेना आएर ढोका ढक्ढक्याउथ्यो ।
सबैजना गजनी फिल्मको संजय सिंघानिया भएर शर्टटर्म मेमोरी लस हुँदैन । हामीलाई याद छ त्यो त्रासदी, त्यो दुव्र्यवहार, त्यो आतंक...। फेरि त्यस्तो सहन सकिदैन दाजु । दरबारबाट पालितपोषित परिवारको छोरा, जो लण्डनमा बसेको छ, उसले ज्ञानेन्द्र शाह शासन कालको राज्य आतंक कसै गरेपनि महसुस गर्न सक्दैन । त्यसैले उसलाई ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउनु छ । उ दरबारबाट पालितपोषित हुन चाहन्छ । उसलाई कुनै शाही आयोग वा दौडाहा टोलीको संयोजक हुने रहर लागेको हुन सक्छ ।
तिमीलाई किन राजा चाहियो, थाहा छैन । तर, मलाई राजा चाहिदैन । त्यसैले तिमीले राजा ल्याउँदा घरमा अउडीको कार ल्याए जस्तै गरी ल्याउनु । आइफोन १५ प्रो म्याक्स ल्याए जस्तै गरी ल्याउनु । सिंगल माल्ट स्कच ह्वीस्की ल्याए जस्तै गरी ल्याउनु । ज्ञानेन्द्र राजा भएर आएपछि तिम्रो जीवन सहज र आनन्दमय होस् । राजा ज्ञानेन्द्र नितान्त तिम्रो पेवा होस्, राजा ज्ञानेन्द्रमा तिम्रो एकल प्याटेन्ट राइट दर्ता होस् । राजा ज्ञानेन्द्र तिम्रो व्यक्तिगत सम्पत्ति हो भनेर अरुले वास्तै नगरुन् । राजा ज्ञानेन्द्र तिम्रो मात्रै सरकार होस् । किनभने तिमीले ल्याउने राजा तिम्रा लागि मात्रै होस र बढीमा तिम्रो परिवारको लागि मात्रै होस्, त्यो पनि उनीहरुले चाहेमा ।
रविन्द्र दाइ ! तिमी आफै नयाँ नारायणहिटी बनाउ । त्यहीँ तिम्रा राजा ज्ञानेन्द्रलाई राख र अर्काे साल त्यही दरबारमा दशैंको टिका थाप । किनभने अहिले हामीले ल्याइदिएको यो व्यवस्थाले तिमीलाई यति गर्ने छुट दिन्छ ।
म पञ्चायतमा जन्मे पनि प्रजातन्त्रकालमा हुर्केँ । व्यक्तिगत स्वतन्त्रता मेरो आधारभूत आवश्यकता हो । तिम्रो राजाले शासन गरेको पञ्चायतकालमा तास खेल्दा पनि सत्ता पल्टा भन्न पाइदैनथ्यो, अठ्ठा जोक्कर बना मात्रै भन्नुपथ्र्याे है रविन्द्र दाजु ।
तर, आज हामीले तिम्रा राजाका प्रहरी र सिपाहीको हातबाट गोली र भाटा खाएर ल्याएको लोकतन्त्रमा नारायणहिटी दरबारलाई ज्ञानेन्द्र शाह नाम गरेका एक जना नेपालीलाई दिनुपर्छ भन्न पाइन्छ । अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्नुपर्छ भन्न पाइन्छ । तिम्रा राजाले गरेको शासनकाल र हामीले ल्याएको लोकतान्त्रिक समयमा यति फरक छ है दाजु ।
तिमीलाई लाग्दो हो– ज्ञानेन्द्र शाह भगवान विष्णुका अवतार हुन् । भैगयो त, तिम्रा विष्णुका अवतार तिम्रो पेवा बनाएर तिमी नै राख । तिमीलाई लाग्दो हो– तिम्रा राजा तिम्रो प्राणभन्दा प्यारो छन् । भैगयो त, तिम्रो प्राणभन्दा प्यारो राजालाई तिम्रै खोपीमा राख ।
राजा ल्याउने कम्पनीका बजार प्रतिनिधिहरु यसअघि पनि आइडी कार्ड झुण्ड्याएर बजारमा आएका थिए । तिनीहरुले सकेनन्, जागिर नै छोडेर हिडे, अर्काे जागिर खोजे । कमल थापा, दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाहीहरुले ल्याउन नसकेका राजा ल्याउने के भाउतो उठाउँदै छौ हो दाजु !
र, एउटा कुरो चै सोध्नै पर्ने भयो । ज्ञानेन्द्र शाहलाई राजा बनाउन लागेका छौ, ती मान्छे राजा भएपछि के हुन्छ रविन्द्र दाइ ? मलाई लाग्छ, केही हुँदैन । तिमी भ्रममा छौ । ज्ञानेन्द्र शाह रातिराति डान्सक्लब जान्छन् । विहान–दिउसो मन्दिर जान्छन् । छोरालाई पूर्ण स्वतन्त्र छोडेका छन् । आफूले मन लागेको गरेका छन् । उनी रिल्याक्स जिन्दगी जिइरहेका छन् । त्यसैले उनलाई फेरि राजा बनाइदिन्छु भनेर तिमी जत्तिको देशविदेश बुझेको र पढेलेखेको परिवारको मान्छेले सोझा ज्ञानेन्द्रलाई फेरि राजा हुने भुत सवार गराइदिएर उट्पट्याङ नगरिदेउ न रविन्द्र दाइ ।