काठमाडौँ । फागुन ६ गते बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीमा चुनावी सभा गरेको थियो । सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्वोधन गरेका थिए ।
सुदूरपश्चिमस्तरीय सो सभामा बालेनले बढीमालिकालाई ‘स्वीटजरल्याण्डको बाउ’ नाम दिएका थिए ।
‘मान्छेले यो देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन् । स्वीटजरल्याडको बाउ बढीमालिका यहीँ छ किन बनाउनु पर्योे स्वीटजरल्याण्ड ? स्वीटजरल्याण्डको पराकाष्ट रामारोसन यहीँ छ,’ बालेनले भनेका थिए ।
उनले नेपालीले माल पाएर पनि चाल नपाएको भनेका थिए । ‘आफ्नै देशमा भएका सुन्दरता देखाउन नसक्नेले स्वीजरल्याण्ड बनाउने भनेर मात्रै हुँदैन, सुदुरपश्चिमलाई जोड्नै सकेको छैन’, उनले भनेका थिए ।
यस्तो अभिव्यक्ति दिने बालेन अहिले झण्डै दुईतिहाई मतसहितको सरकारका प्रधानमन्त्री बनेका छन् । र, उनी प्रधानमन्त्रीमा नियुक्त भएकै दिन अर्थात चैत १३ गते नै मन्त्रिपरिषद बैठकले शासकीय सुधारका १०० वटा कार्यसुची सार्वजनिक गरेको छ ।
सो कार्यसुचीमा बढीमालिकाको विषय पनि उल्लेख छ । यस्तै, बालेनले फागुन १२ गतेको इटहरि सभामा उल्लेख गरेको ‘बराह क्षेत्रलाई बाली र माल्दिभ्स जस्तो बनाउने’ विषय पनि कार्यसुचीमा परेको छ ।
‘उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बढीमालिका, अपी हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनको लागि आवश्यक अध्ययन गरी १ महिनाभित्र कार्यान्वययनयोग्य खाका प्रस्तुत गर्ने’, सरकारको १०० कार्यसुचीको ७२ नम्बर बुँदामा उल्लेख गरिएको छ ।






