काठमाडौँ । आगामी बैशाख ३ गतेबाट द्धितिय अन्तरपालिका उपमेयर भलिबल प्रतियोगिता हुने भएको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा प्रतियोगिता संचालन हुन लागेको हो ।
बैशाख ५ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहहरु र गोरखा नगरपालिकाको भगेनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिकाले सहभागिता जनाउने गोनपाका खेल संयोजक एवं वडा नं १० का वडाअध्यक्ष प्रदिप कुँवरले बताए । कुँवरका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि महिला भलिबल टिम निर्माण गरेर समयसिमा भित्र पालिकाको सिफारिस पत्रसहित गोरखा नगरपालिकामा टिम दर्ता गर्नुपर्ने हुन्छ ।
टिम निर्माण गर्दा १० जना खेलाडी, एकजना कोच र एकजना टिम म्यानेजरको गरी जम्मा १२ जनाको टिम हुनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । यसअघि बैशाख १० देखि १२ गतेसम्म संचालन हुने भनिएको प्रतियोगिताको तालिका कक्षा १२ को परीक्षाका कारण सारिएको कुँवरको भनाई छ ।
दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एकलाख ३४ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने पालिकाहरुले क्रमश रु ६८ हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।






