पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान

काठमाडौं । सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन आजदेखि विशेष उडानको व्यवस्था गरेको छ । परराष्ट्रमन्त्रीको निर्देशनमा नेपाल वायुसेवाले पश्चिम एसियामा विशेष उडान सञ्चालन गर्न लागेको हो ।

नेपाल एयरलाइन्सको एउटा विमान अप्रिल ३ मा काठमाडौंबाट दुबई जाने र अप्रिल ४ मा दुबईबाट काठमाडौं फर्कनेछ । यस्तै, नेपाल एयरलाइन्सको अर्को उडान अप्रिल ५ मा काठमाडौंबाट दमाम र अप्रिल ५ मा दमामबाट काठमाडौं फर्कने गरी मिलाइएको परराष्ट्रले जनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा ३१ मार्च २०२६ का दिन परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण ती क्षेत्रमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए ।

यसअघि १ अप्रिल २०२६ मा कुवेत एयरवेजको एउटा उडान भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त उडानमा २९१ यात्रु र कुवेतमा हालको परिस्थितिभन्दा अन्य कारणले मृत्यु भएका नौ जना नेपाली नागरिकको शव समेत ल्याइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update