काठमाडौं : कराँते खेलाडी एरिका गुरुङ कराँते वान प्रिमियर लिगको फाइनलमा पुगेकी छन्।
चीनको लेसानमा शनिबार एरिकाले महिला ६८ केजी तौल समूहको सेमिफाइनलमा इटालीकी क्लियो फेराकुटी लाई ८–३ ले हराइन्। क्लियो १५ औँ वरीयताप्राप्त खेलाडी हुन्।
एरिका ११ औँ वरीयतमा रहेकी छन्। एरिका कराँते वन प्रिमियर लिग खेल्ने पहिलो नेपाली पनि हुन्। एरिकाले आइतबार (आज) काजकिस्तानकी सोफी बेरुतसेभासँग स्वर्ण पदकका लागि खेल्नेछिन्।
सोफीले युक्रेनकी डारिया बुलेलाई ५–५ को बराबरीपछि सेनमा हराएर फाइनलमा स्थान बनाएकी हुन्। लिगमा शीर्ष वरीयताप्राप्त सोफीले प्रिमियर लिगमा छ स्वर्ण पदक जितिसकेकी छन्।
एरिकाले दोस्रो पटक प्रिमियर लिगको फाइनलमा स्थान बनाएकी हुन्। गत जनवरीमा टर्कीमा भएको कराँते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफीसँग ४–२ ले पराजित भएकी थिइन्।
यसअघि समूह चरणमा एरिकाले मोन्टेनेग्रोकी जोमाना डामजानोभिच, बेलारुस्की मारिया मालखाभा जर्मनीकी योहान्ना कानिरलाई हराइन्। त्यसपछि एरिकाले स्लोभेनियाकी जिब्रेत जालालाई ८–० ले सहजै हराएर सेमिफाइनलमा स्थान बनाएकी हुन्।






