काठमाडौं- असन क्षेत्रको मौलिकता जोगाउनका लागि महानगरले हरेक शनिबार असनलाई सवारीमुक्त बनाउने भएको छ । वैशाख पाँचदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको हो ।
‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो,’ कार्यवाहक प्रमुख डंगोलले भनिन् ।
यस अभियानअन्तर्गत कामपा-२७ को कमलाक्षी चोकबाट असनसम्म, भोटाहिटी चोकबाट असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा शनिबार सवारी प्रवेशमा रोक लगाइएको छ । उक्त दिन वैकल्पिक मार्गको व्यवस्था गर्न लागिएको छ ।
यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गरिने कामपाले जनाएको छ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिने कामपाको तयारी छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुङ र महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।






