इरान युद्ध लम्बिए विश्वव्यापी मन्दीको खतरा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्ध लामो समयसम्म जारी भए र ऊर्जा मूल्य उच्च रहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ ।

आईएमएफको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनका अनुसार, युद्धले विश्व अर्थतन्त्रलाई पुनः अस्थिर बनाएको छ । विशेष गरी होर्मुज जलमार्ग अवरुद्ध हुँदा ऊर्जा आपूर्तिमा गम्भीर असर परेको उल्लेख गरिएको छ । 

यदि तेल, ग्यास र खाद्य पदार्थको मूल्य आगामी वर्षसम्म उच्च रहिरह्यो भने, २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी दिइएको छ ।

आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिवियर गोरिनचासले भने, “यसले विश्वमा मन्दीसरहको अवस्था सिर्जना गर्न सक्छ, जसका कारण बेरोजगारी बढ्नेछ र खाद्य असुरक्षा गहिरिनेछ ।”

गम्भीर परिदृश्यमा यस वर्ष तेलको औसत मूल्य प्रतिब्यारेल ११० डलर र २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यससँगै २०२७ मा विश्वव्यापी मुद्रास्फीति दर ६ प्रतिशतसम्म पुग्न सक्ने पनि उल्लेख छ ।

यस्तो अवस्थामा केन्द्रीय बैंकहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउन सक्नेछन्, जसले आर्थिक गतिविधिलाई थप सुस्त बनाउन सक्ने बताइएको छ ।

तर, यदि आगामी हप्ताहरूमा युद्ध अन्त्य भई ऊर्जा उत्पादन र निर्यात सामान्य अवस्थामा फर्कियो भने, २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर ३.१ प्रतिशतसम्म रहन सक्ने आईएमएफले जनाएको छ ।

आईएमएफका अनुसार, विकसित अर्थतन्त्रमध्ये बेलायत यो ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित हुन सक्नेछ । सन् २०२६ का लागि बेलायतको आर्थिक वृद्धि दरको अनुमान घटाएर ०.८ प्रतिशतमा झारिएको छ ।

अर्कोतर्फ, खाडी क्षेत्रका तेल उत्पादक देशहरूमा यस वर्ष आर्थिक सुस्ती वा संकुचन देखिन सक्नेछ भने इरानको अर्थतन्त्र २०२६ मा ६.१ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update