‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’बाट बजारीकरण

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाइकटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बनेकी छन् । उनले बेनीको सङ्गमचोकमा सञ्चालन गरेको अस्मिता टेलरिङ सेन्टरमा आफ्नै डिजाइनमा झोला तयार पार्नुका साथै सिलाइकटाइसम्बन्धी काम गर्दै आएकी छन् । 

ग्राहकको मागअनुसार विभिन्न प्रकारका झोला, कुर्ता सुरुवाल, साडी र ब्लाउज तयार पार्न थालेपछि सिउथानीको व्यवसाय फस्टाएको छ । उनले फुर्सदको समय सदुपयोग गर्न सिकेको सिलाइकटाइसम्बन्धी व्यवसायम फस्टाउन सामाजिक सञ्जालले निकै सघाउ पुगेको उनले बताइन् । 

‘युट्युब हेरेर झोला र लेडिज कपडाको डिजाइन गर्न सकेको र थालेकी हुँ’, सिउथानीले भनिन्, ‘ग्राहकको रोजाइअनुसार कपडा र झोला तयार पार्ने र सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’बाटै बजारीकरण गर्दै आएकी छु ।’

काठमाडौं, पोखराबाट कपडा ल्याएर उनले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्छिन् । झोलालाई आकारअनुसार प्रतिगोटा एक हजार २०० देखि एक हजार ७०० सम्ममा बिक्री गरिरहेको सिउथानीले जानकारी दिइन् । 

‘बेनी बजारसहित म्याग्दीका ग्रामीण क्षेत्रका साथै पोखरा, काठमाडौं र विदेश जानेहरूले पनि झोला मन पराउने गरेका छन्’, उनले सुनाइन्, ‘विसं २०७४ मा सिलाइकटाइ व्यवसाय शुरू गरेकी थिए । पछिल्ला केही वर्षयता डिजाइनमा लागिरहेकी छु ।’

यसबाट ‘सिजन’मा मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ । ‘मागअनुसार झोला र कपडा बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा कम भएको छ । पछिल्लो समय त काम छैन भनेर बस्नुपरेको छैन’, सिउथानीले भनिन्, ‘दैनिक कारोबार त भइरहेकै छ । सीप सिक्न चाहनेलाई पनि सिकाइरहेकी छु । यसले पैसा र सन्तुष्टि दुवै मिलिरहेको छ ।’

उनलाई एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ । यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताइन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  २०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update