काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताएकी छन् ।
महानगरको शिक्षा विभागले आइतबार राष्ट्रिय सभा गृहमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत शिक्षक र महिला शिक्षकका लागि आयोजना गरेको विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार लगायतका विषयक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएकी हुन् ।
‘हामीले शिक्षामा लगानी बढाएका छौँ । यो लगानी दक्ष जनशक्ति निर्माणका लागि हो । प्रतिफल तत्काल नदेखिन सक्छ । तर, प्राप्त उपलब्धि दिगो हुनुपर्छ । विद्यालयबाट माग भएका विषयप्रति हामी सकारात्मक छौँ । तर सबैभन्दा पहिले, उपलब्ध भौतिक पूर्वाधार, स्रोत, साधन र जनशक्तिको उच्चतम उपयोग भएका सुनिश्चित हुनुपर्छ,’ उनले भनिन् ।
आइतबार विद्यालय छुट्टी विषयमा अन्यौल नहुन विद्यालयहरुलाई आग्रह गर्दै उनले पाठयक्रम पूरा हुने र थालिएका अन्य क्रियाकलाप पनि नियमित सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान दिइने बताइन् ।
शिक्षकहरुबाट महानगरपालिकाले गरेको अपेक्षाका विषयमा कुरा गर्दै शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले आफ्ना नानीबाबुलाई अध्ययन गराउने सकिने स्तरको विद्यालय बनाइदिनु पर्छ भन्ने रहेको बताए । आफूले अध्यापन गराउने विद्यालयको स्तरमा चित्त नबुझेर छोराछोरी संस्थागत स्कूलमा पठाउनु नपरोस् भन्दै उनले आफूहरुको यस्तो अपेक्षा रहेको बताए ।
महानगरपालिकाको शिक्षा नीतिमा सुधार गर्न विज्ञ र नीति कार्यान्वयनकर्ताको अपेक्षा वुझेर काम गर्ने उनको भनाइ छ ।
अभिमुखीकरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा केदारभक्त माथेमाले परिवर्तित सन्दर्भमा शिक्षा प्रणालीको अभ्यासका विषयमा धारणा राख्दै महानगरपालिकाले अघि सारेका कार्यक्रमले सामुदायिक शिक्षाको गुणस्तरमा सुधार हुँदै गएको अनुभूति भएको बताए । सूचना प्रविधिमा आधारित, प्रयोगात्मक र व्यावहारिक शिक्षाबाट नै दक्ष जनशक्ति उत्पादन गर्न सकिनेमा उनको जोड छ ।
कार्यक्रममा प्रधानाध्यापकका तर्फबाट धारणा राख्दै विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल र सरस्वती निकेतन माध्यमिक विद्यालय, ओन्देका प्रधानाध्यापक रविना महर्जनले महानगरपालिकाले विद्यालय शिक्षामा लगानी बढाएसँगै विद्यालयमा विद्यार्थी खुशी भएर पढ्न थालेको, प्रविधिमा आधारित सिकाइमा वृद्धि भएको, प्राविधिक धारबाट समय सापेक्ष जनशक्ति उत्पादन भएकोमा जोड दिँदै, यसलाई वृद्धि गर्न महानगरपालिकाले थप लगानी गर्नुपर्नेमा जोड दिए ।
महानगरपालिकाले शिक्षकहरुलाई प्रदान गरेको तालिमलाई विशिष्टकृत बनाउँदै लैजानु पर्ने, कतिपय तालिम सञ्चालन गर्न विद्यालयलाई दिनुपर्ने, तालिमबाट प्राप्त सिप कक्षा कोठामा प्रयोग भए नभएको हेर्ने प्रणाली बनाउनु पर्नेमा उनीहरुको भनाइ छ । यस्तै, शिक्षकहरुलाई शिक्षणमा प्रोत्साहन गर्न, वृत्ति विकासका लागि कसैकोमा जानु नपर्ने पद्धति विकास गर्न पनि उनीहरुले आग्ह गरे ।
शिक्षण सिकाइमा प्रभावकारिता बढाउन महानगरपालिकाले सामुदायिक विद्यालयमा नेपाल भाषा प्रशिक्षण गराउने १७२ जना र संस्थागत विद्यालयमा प्रशिक्षण गराउने १५० जनालाई क्षमता विकास तालिम प्रदान गरिएको छ । ५२८ जना शिक्षकलाई डिजिटल बोर्डको सिर्जनात्मक उपयोग सम्बन्धी, १२४ जना इसीडी शिक्षकलाई तालिम प्रदान गरिएको बताउँदै शिक्षा विभागका प्रमुख नमराज ढकालले विषयगत प्रश्नपत्र निर्माण र मूल्याङ्कनका लागि ५१० जना र मनोसामाजिक तथा मनोवैज्ञानिक परामर्शका लागि १४० जना शिक्षकलाई तालिम प्रदान गरिएको जानकारी दिए ।
महानगरपालिकाको शिक्षा विभागले अहिले सामुदायिक विद्यालयमा दरवन्दी मिलानको काम गरिरहेको छ । गरिखाने शिक्षा महानगरको इच्छा गौरवका कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई डिजिटल बोर्ड प्रदान गरेको छ । फर्निचरको लागि १५ करोड रुपैयाँ खर्च खर्च गरेको छ । पुस्तक रहित शुक्रवार अन्तर्गत कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई १६ विधामा ६८२ वटा उपसमूह बनाएर सिर्जनात्मक सिप कक्षा सञ्चालन गरिरहेको छ ।
शिक्षामा सिप कार्यक्रम अन्तर्गत कक्षा ९ मा १७२ समूह निर्माण गरेर सिप विकास कक्षा सञ्चालन गरिरहेको छ । सुन्दर विद्यालय कार्यक्रम अन्तर्गत कक्षा कोठा तथा विद्यालय परिसर सजावटको काम गरेको छ । विद्यालयहरुको भौतिक पूर्वाधार सुधारका लागि २२ वटा विद्यालयको विकास गुरुयोजना तयार पारिसकेको छ ।
गुणस्तरीय तथा जीवनउपयोगी शिक्षाका लागि सरोकारवालालाई जिम्मेवारी वोध गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।





