काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनबाट बढ्दै गएका असर न्यूनीकरण गर्ने, जोखिममा रहेका समुदायको संरक्षण तथा सहरलाई जलवायु उत्थानशील बनाउने उद्देश्यसहित ‘काठमाडौँ जलवायु घोषणा, २०८३’ जारी गरेको छ ।
मङ्सिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको काठमाडौँ जलवायु कार्य सप्ताहको अन्तिम दिन आज आयोजित कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोलले सप्ताहव्यापी छलफल, विमर्श, अनुभव र सिकाइलाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित घोषणा जारी गरेकी हुन् ।
घोषणाले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नभई सामाजिक न्याय, मानव अधिकार, सार्वजनिक स्वास्थ्य, सहरी विकास र भावी पुस्ताको भविष्यसँग जोडिएको साझा चुनौतीका रूपमा व्याख्या गरेको छ ।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोतको सङ्कट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथि बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न जारी घोषणाले सातवटा प्रमुख प्रतिबद्धता अघि सारेको छ । जलवायु न्यायको सिद्धान्त र ७ दिन सञ्चालन गरिएका कार्यमूलक कार्यक्रमको निचोडलाई आत्मसात् गर्दै स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य र समावेशी सहभागितालाई परिणाममुखी बनाउने यसको मूल मर्म छ ।
घोषणाले जलवायु परिवर्तनको असर सबैले भोगे पनि त्यसमा योगदान र सामना गर्ने क्षमता सबैको समान नरहेको वास्तविकतालाई स्वीकार गरेको छ । विकसित राष्ट्रको जिम्मेवारी, विकासशील मुलुकको आवश्यकता र जोखिममा रहेका समुदायको अधिकारलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै घोषणामा जलवायु कार्यलाई साझा चुनौतीको साझा समाधानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
जलवायु परिवर्तनको प्रभावबाट भावी पुस्ता सबैभन्दा बढी प्रभावित हुन सक्ने यथार्थलाई दृष्टिगत गर्दै घोषणाले बालबालिका र युवाको सहभागितालाई विशेष प्राथमिकता दिएको छ । विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, दिगो विकास, हरित सहर र फोहरमैला व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान तथा सिप स्थानीय पाठ्यक्रममा समावेश गर्ने घोषणामा प्रतिबद्धता जनाइएको छ । नीति निर्माण, निर्णय प्रक्रिया र समस्या समाधानमा बालबालिका, युवा तथा विभिन्न पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्नुलाई घोषणाको मर्म मानिएको छ ।
त्यसैगरी, प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई सहरी विकासको आधार बनाउने घोषणा गरिएको छ । पूवाधार निर्माण र आर्थिक विकासका नाममा नदी, खोला, वन, सिमसार, खुला क्षेत्र तथा जैविक विविधतामाथि पर्ने दबाब घटाउन रैथाने ज्ञान, सिप र सामुदायिक क्षमताको उपयोग गरिने घोषणामा उल्लेख छ । विकासका योजना तथा आयोजनामा जलवायु जोखिम मूल्यााङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेट्ने प्रतिबद्धता पनि घोषणामा छ ।
काठमाडौँ उपत्यकाको विशिष्ट भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने विषय घोषणाको अर्को महत्पूर्ण पक्ष हो । तीव्र सहरीकरणसँगै बढ्दै गएको तापक्रम, वायु प्रदूषण, बाढी, डुबान र खानेपानीको चुनौती सामना गर्न एकीकृत कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतामार्फत सहकार्यमा जोड दिइएको छ ।
यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्ने, आकाशे पानी सङ्कलन, ‘रिचार्ज काठमाडौँ’ अभियान, नदी तथा खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ । सफा टेम्पो र विद्युतीय बसजस्ता वातावरणमैत्री सार्वजनिक यातायातको प्रवर्धन तथा विपद् पूर्वतयारीलाई पनि सहरको जलवायु अनुकूलन रणनीतिसँग जोडिएको छ ।
जलवायु कार्यलाई सम्मेलन, नीति र घोषणापत्रमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्नुपर्नेमा घोषणाले जोड दिएको छ । स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई सहरी नीति, योजना, बजेट तथा कार्यक्रमको अभिन्न हिस्सा बनाउने प्रतिबद्धता गरिएको छ । विपद् आउनुअघि तयारी गर्ने, जोखिम न्यूनीकरण गर्ने र क्षतिपछि पुनःस्थापना गर्न सक्ने संस्थागत क्षमता विकास गर्ने विषय पनि घोषणामा समेटिएको छ ।
जलवायु परिवर्तनको असर सबै समुदायमा समान रूपमा नपर्ने भएकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जोखिममा रहेका अन्य समूहको आवश्यकता र आवाजलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिने घोषणा गरिएको छ । स्थानीय ज्ञान, परम्परागत सिप, रैथाने खाना, दिगो खाद्य प्रणाली, वैज्ञानिक अनुसन्धान र नयाँ पुस्ताको सिर्जनशीलतालाई एकीकृत गर्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धतालाई घोषणाको अभिन्न हिस्साका रुपमा हेर्न सकिन्छ । घोषणाले जलवायु सुरक्षालाई सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने अवधारणा अघि सारेको छ ।
घोषणाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रतिबद्धतालाई कार्यान्वयन र परिणामसँग जोड्नु हो । जलवायु कार्य सप्ताहमा उठेका विषय तथा निष्कर्षलाई स्पष्ट कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापन योग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी विकास गर्ने तथा जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्ने विषय पनि घोषणामा समेटिएका छन् ।
पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्दै घोषणालाई व्यवहारमा उतार्ने संकल्प गरिएको छ । यसले जलवायु परिवर्तनसँग जुध्ने जिम्मेवारी सरकारको कुनै एक तह वा निकायको मात्र नभई बहुक्षेत्रीय समन्वय र सामुहिक प्रयासको विषय भएको सन्देश दिएको छ ।
सप्ताहव्यापी काठमाडौँ जलवायु कार्य सप्ताहले जलवायु परिवर्तनका चुनौती बारे बहस गर्ने मात्र नभई स्थानीय अनुभव, ज्ञान, प्रविधि र समाधानका उपायलाई साझा मञ्चमा ल्याउने अवसर प्रदान गरेको छ ।




