आजदेखि संसदको बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम पेस हुने

संघीय संसदको संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । 

बजेट ल्याउन २० दिनभन्दा कम समय रहेको अवस्थामा सुरु हुन लागेको संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन नै आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् । 

सो धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । 

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्ने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । 

त्यसअघि अपराह्न २ बजे संघीय संसदका दुवै सदनका अलग अलग बैठक बस्नेछन् । 

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update