त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएर मुख्य धावनमार्गमा रोकिएपछि विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित बनेको छ ।
सोमबार बिहान करिब पौने ७ बजे विमानमा अवतरणका क्रममा पाङ्ग्रामा आगो देखिएपछि तत्काल दमकलको सहायताले आगो निभाएर यात्रुलाई आपतकालीन ढोकामार्फत बाहिर निकालिएको थियो ।
इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको टीके७२६ विमानको जहाजमा ४ बालबालिकासहित २७७ यात्रु थिए । उनीहरुमध्ये केहीलाई सामान्य चोट लागे पनि सबै यात्रु सुरक्षित छन् ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पछाडिको ल्यान्डिङ गियरमा आगोको झिल्का देखिएपछि तत्काल दमकल प्रयोग गरेर आगो नियन्त्रणमा ल्याइएको थियो ।
विमान मुख्य धावनमार्गबाट विमानलाई ट्याक्सीवेमा ल्याएर अवस्थाको मूल्यांकनपछि अन्य विमानलाई उडान अनुमति दिइनेछ ।





