बृहत् सहरी विकास कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ Iआगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा सरकारले सहरी पूर्वाधार सूचक कमजोर भएका नगरपालिकालाई प्राथमिकतामा राख्दै बृहत् सहरी विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकीकृत फोहरमैला व्यवस्थापन प्रणाली विकास गरिने बताउनुभयो ।

फोहर सङ्कलन, प्रशोधन तथा पुनःप्रयोगका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिने तथा सहरी व्यवस्थापनलाई व्यवस्थित र दिगो बनाइने सरकारको योजना छ । सरकारले आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद् प्रभावित समुदायका लागि सुविधायुक्त आवास योजना कार्यान्वयन गर्ने नीति अघि सारेको छ । वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिने राष्ट्रपति पौडेलले बताउनुभयो ।

मध्य पहाडी लोकमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास, पूर्वाधार विस्तार र स्थानीय आर्थिक सम्भावनासँग जोडिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी, अग्नि सुरक्षा तथा आधुनिक पूर्वाधार मापदण्ड लागू गरिने सरकारले जनाएको छ । जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणलाई प्राथमिकता दिइने तथा जोखिमयुक्त र छरिएका बस्तीलाई व्यवस्थित गर्न भू–उपयोग, पूर्वाधार र सामुदायिक सेवासहितको एकीकृत परियोजना सञ्चालन गरिने नीति लिइएको छ ।

सरकारले प्रतिक्रियामुखीभन्दा पूर्वतयारीमुखी विपद् व्यवस्थापन नीति अवलम्बन गर्ने जनाएको छ । जोखिम नक्साङ्कन, प्रारम्भिक चेतावनी प्रणाली तथा विपद् सुरक्षा अभ्यासलाई संस्थागत गरिने तथा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्मिलित एकीकृत कमाण्ड प्रणाली विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विपद् व्यवस्थापनमा ड्रोन, हेलिकप्टरलगायत आधुनिक प्रविधिको प्रयोग गरिने तथा यसका लागि निजी क्षेत्रसँग साझेदारी गरिने राष्ट्रपति पौडेलले बताउनुभयो । बजेट पारित हुनुअघि नै विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति तथा जग्गा प्राप्ति प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था गरिने भएको छ । सरकारले साउन महिनादेखि नै खरिद प्रक्रिया सुरु गर्ने ‘शून्य–दिन खरिद नीति’ लागू गरी असार महिनामा केन्द्रित खर्चको विकृति अन्त्य गर्ने जनाएको छ ।

ठूला खरिद प्रक्रियामा खुला सार्वजनिक खरिद नीति लागू गरिने तथा विकास आयोजना कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र समयबद्ध बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update