एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको ०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज राति ९ः१५ बजे सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा एसइई परीक्षामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।

यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले जानकारी दिए । सार्वजनिक नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् । 

त्यस्तै, ९४ हजार २२२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका शिक्षासचिव पौडेलले जानकारी दिए।

उनका अनुसार ननग्रेडेड ९एनजी० प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा उहाँले बताए ।

यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो । वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो । गत वर्ष असार १३ गते परीक्षाफल सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  २२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update