महभिरको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । ढुंगा र माटोसहितको पहिरो खसेसँगै ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङसँग सीधा यातायात सम्पर्कविच्छेद हुन पुगेको छ । 

सडक अवरुद्ध हुँदा म्याग्दीको बेनीदेखि मुस्ताङ र मुस्ताङको जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । 

सडक अवरुद्ध बनेपछि स्थानीयवासीसँगै मुस्ताङ घुम्न जाने तथा घुमेर फर्किदै गरेका पर्यटक तथा मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्रु प्रभावित भएका छन् । 

सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जानकारी दिएको छ । 

महभिरमा वर्षा सुरु हुनेबित्तिकै झण्डै ५ सय मिटरमाथिबाट ढुंगा र लेदोसहितको पहिरो खस्दा हरेक वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ भने दुर्घटनाको जोखिम समेत बढाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update