इरानसँगको युद्धका कारण तत्काल विश्वको तेल आपूर्ति प्रणाली सामान्य नबन्ने अवस्थामा अमेरिकाले ठूलो मात्रामा कच्चा तेल रिलिज गर्ने भएको छ ।
ट्रम्प प्रशासनले अमेरिकी स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट ५.३३ करोड ब्यारेल कच्चा तेल जारी गर्ने जनाएको छ ।
रोयटर्सको रिपोर्ट अनुसार यो निर्णय अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण बढ्दो तेलको मूल्य र घट्दो आपूर्ति शृङ्खलाबीच गरिएको हो ।
रिपोर्टअनुसार अमेरिकाले यो कच्चा तेल ऊर्जा कम्पनीलाई लोनका रुपमा दिनेछ । यसको उद्देश्य युद्ध र वैश्विक आपूर्ति संकटबाट प्रभावित बजारलाई स्थिर गर्नु हो । रोयटर्सका अनुसार गत महिना अमेरिकी ऊर्जा विभागले ९.२५ करोड ब्यारेल तेल उपलब्ध गराएको थियो ।
यद्यपि एक्सन मोबिल, ट्रेफिगुरा र म्याराथन पेट्रोलियमसमेत ९ वटा ऊर्जा कम्पनीले यसको ५८ प्रतिशत हिस्सा लिएका थिए ।
अमेरिकी ऊर्जा विभागको रणनीति अनुसार नै भण्डारणमा रहेको तेल रिलिज गरिदै आएको छ । विभाग युद्धको असर कम गर्नका लागि कुल १७.२ करोड ब्यारेल रिजर्भ तेल रिलिज गर्ने योजनामा छ ।
अमेरिका–इरान तनाव र होर्मुज स्ट्रेट संकटका कारण वैश्विक तेल बजारमा तेल आपूर्ति अत्यधिक घटेपछि चिन्ता बढेको छ । ब्रेन्ट क्रुडको मूल्य यसअघि नै १०४ डलर प्रतिब्यारेलभन्दा माथि पुगिसकेको छ ।





