कार्यविभाजन गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । 

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए । 

यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो । पार्टीको ११औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । 

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । 

यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी छ । आजको बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update