काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो । आजको खेलमा नेपालले अमेरिकालाई हराएको टिमलाई नै निरन्तरता दिएको छ ।
अघिल्लो खेलमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो रोजाइमा स्थान पाएका छन् ।
स्कटल्याण्डबाट ओली जोन्सले आज ओडीआईमा डेब्यु गर्दैछन् । नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जितको लय कायम राख्ने लक्ष्यमा छ ।
नेपाल २६ खेलबाट २० अंकसहित अंकतालपकामा सातौँ स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३० खेलबाट ३८ अंक छ । स्कटल्याण्डलाई पराजित गरेमा नेपाल छैटौं स्थानमा उक्लिनेछ ।






