हुम्लाको नेप्कामा पहिरोले विद्यालय भवन बगायो

हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ ।

एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । 

चङ्खेली –५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए । 

उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको  बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । 

गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ  ।
 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  ०९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update