३० वर्षको खडेरी तोड्दै एस्टन भिल्लाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधि इंग्लिस क्लब एस्टन भिल्लाले जितेको छ । योसँगै एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गरेको छ । 

इस्तानबुलस्थित बेसिक्टास पार्कमा गएराति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले युरोपा लिगको उपाधि जितेको हो । 

खेलको पहिलो हाफमै एस्टन भिल्लाले दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । खेलको ४१औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले अग्रता दोब्बर पारे । 

दोस्रो हाफको ५८औं मिनेटमा मोर्गन रोजर्सले अर्को गोल थपेपछि एस्टन भिल्लाको जित सुनिश्चित भएको थियो । 

यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । यस्तै सन् १९८२ मा युरोपियन कप जिते यता एस्टन भिल्लाले पहिलो पटक युरोपियन प्रतियोगिताको उपाधि जितेको हो । 

मुख्य प्रशिक्षक उनाई एमरीका लागि यो पाँचौं युरोपा लिग उपाधि हो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update