‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ । 

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरी गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अध्ययन थालेको हो । 

वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरी अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको जानकारी दिए। 

'यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवी (किरा/जुका) को अवस्थाका विषयमा अध्ययन भइरहेको छ,' उनले भने, 'दिसा भेटिएका ठाउँहरुमा जडान भएको १२ वटा स्वचालित क्यामेरामा कैद हुने दृष्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्नका लागि पनि अध्ययन भइरहेको छ ।'  
    
समुन्द्र सतहबाट २२ सयदेखि ४५ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । 

यसअघि जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा ‘रेकर्ड’ भएको कार्यक्रम अधिकृत राईले बताए। सो क्षेत्रमा ६ वटादेखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको उनले बताए। 

स्थानीयबासीले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ ग्ते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए । 

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । 

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुईँमा झर्छ ।  

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । 

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । 

पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update