लक्ष्मीनीयाँ गाउँपालिकाद्वारा असार १८ भित्र भुक्तानी र फरफारक गरिसक्न निर्देशन

धनुषा । धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकाले चालु आर्थिक वर्षका सम्पूर्ण योजना तथा कार्यक्रमहरूको भुक्तानी असार १८ गतेभित्र लिई फरफारक गरिसक्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ।

गाउँकार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र भुक्तानी प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० (१) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिन अगावै भुक्तानी दिई निकासा र खर्चको स्रेस्ता अद्यावधिक गरेर भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी व्यवस्था छ।

यसका साथै, असार मसान्तमा बढी कार्यचाप हुने, योजनाहरू धेरै भई सर्भर डाउन हुन सक्ने र सिस्टम नै नचल्ने अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो निर्णय लिएको जनाएको छ। असार महिनामा कर दाखिला गर्ने, हिसाब मिलान गर्ने तथा सोको भौचर र आर्थिक विवरण लगायतका प्रतिवेदनहरू तालुक निकाय र कार्यालयहरूमा बुझाउनुपर्ने नियमित व्यवस्था समेत रहेको छ।

समयमा भुक्तानी नलगे गाउँपालिका जिम्मेवार नहुने

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोका अनुसार तोकिएको समयभित्र भुक्तानी लिन नआएमा कार्यालय जवाफदेही हुने छैन। सोको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति, शाखा, फर्मरसंस्था, सप्लायर्स वा निर्माण व्यवसायीकै रहनेछ।

कार्यक्रम र योजनासँग सम्बन्धित सम्पूर्ण बिल, भरपाई र आवश्यक कागजातहरू समयमै तयार गरी भुक्तानीका लागि आर्थिक प्रशासन शाखामा पेस गर्न निर्देशन दिइएको साथै गाउँपालिकाका उपाध्यक्ष र सबै वडा अध्यक्षहरूलाई समयमै सम्पूर्ण योजना तथा कार्यक्रमहरूको अनुगमन गरी फरफारक कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।

गाउँपालिकाले यो सूचनालाई आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमा समेत अपलोड गरी व्यापक प्रचार(प्रसार गर्न सूचना प्रविधि शाखालाई निर्देश गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update