काठमाडौं। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पोर्चुगल विजयी भएको छ ।
समूह ‘के’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’ बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए ।
त्यसपछि १७औं मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० ले अघि बढ्यो।
खेलको ६०औं मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगल ५–० गोलअन्तरले विजयी भयो।
योसँगै रोनाल्डो फरक ६ विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान राख्न सफल भएका छन्।
जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो ।
समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अंक तालिकाको अन्तिममा छ ।





