गढवाले पञ्च वर्षीय गाउँ शिक्षा योजना बनाउने

काठमाडौँ । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजनाको मस्यौदा बनाउने तयारी गरेको छ । 

पालिकाको शिक्षा शाखाको आयोजनामा गढवामा रहेका सरोकारवालाहरुसँगको छलफल पछि मस्यौदा निर्माण गरिने शिक्षा शाखाले जनाएको छ ।

पञ्च वर्षीय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि सोमबार सामुदायिक तथा संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुसंग छलफल गरिएको छ । उक्त छलफलमा तह अनुसार समुह बनाई लिखित राय संकलन गरिएको पालिकाले जनाएको छ । 

कार्याशालालाई उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यार्थी र विश्वविद्यालय दुवै प्रमाणपत्र केन्द्रित हुँदा सिकाइ प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । शिक्षण सिकाइ प्रमाणपत्रका लागि मात्र नभई सिक्न र क्षमता विकासका लागि हुनुपर्ने बताउदै अध्यक्ष पोख्रेलले गरेर सिक्ने सिकाइका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । 

सबैभन्दा उत्कृष्ट शिक्षा निति निर्माणको लागि सबैको साथ सहयोग आवश्यक रहेकोले सम्बन्धित सरोकारवालाहरुसँग छलफल र लिखित राय संकलन गरेर अघि बढ्ने उनले बताए । 

गढवा गाउँपालिकाले शिक्षाको क्षेत्रमा के गर्ने भन्ने बारे खाका तयार गरेर अघि बढ्ने जनाएको छ । 

यस्तै,मंगलवार प्रधानध्यापक र वाल विकास शिक्षकहरुसंग छलफल गरी समूहगत रुपमा राय संकलन गरिने छ भने बुधवार गढवा गाउँपालिका शिक्षाप्रेमी, बुध्दिजिवि, अग्रज व्यक्तिहरुसंग छलफल गरी राय संकलन गरी पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणको कार्य अघि बढाईने पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माण कार्यदलका संयोजक श्याम बहादुर बिकले जानकारी दिए ।

मस्यौदा निर्माण समितिका परामर्शकर्ता तथा शिक्षा बिज्ञ कमल शिलवालले योजना बिहिन गन्तव्य सफल नहुने भन्दै सफल शैक्षिक गन्तव्यका लागि योजना गन्तव्य निर्माणको लागि पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि कार्यशाला महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update