देउखुरी । दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको छ । अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम सञ्चालित थियो । उनका अनुसार, त्यसअन्तर्गत बिहीबार गढवा–४, रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएको थियो । त्यसपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो । प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।
महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएर श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शव परीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । पोस्टमार्टम रिपोर्ट आएपछि थप प्रस्ट हुने उनले उल्लेख गरे । उनले भिटामिन ‘ए’ र जुकाको औषधि सावधानी अपनाएर खुवाउनुपर्नेमा जोड दिए ।






