काठमाडौँ । दाङको गढवा गाउँपालिकामा यस वर्ष किसानले उत्पादन गरेको मोटा धान प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँमा खरिद गरिने भएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले गढवा गाउँपालिकास्थित खरिद केन्द्रमार्फत किसानको धान खरिद गर्न लागेको हो।
गाउँपालिकाको कृषि शाखा प्रमुख कर्ताराम यादवले आर्थिक वर्ष २०८३/०८४ का लागि मोटा धान खरिद गर्ने जानकारी दिए । कम्पनीले गढवा गाउँपालिका–६ स्थित सर्वोदय प्राथमिक विद्यालयको परिसरमा रहेको गोदामघरबाट आगामी मंसिर ३ गतेदेखि धान खरिद गर्ने कार्यक्रम तय गरेको छ।
धान बिक्री गर्न इच्छुक किसानलाई आफ्नो उत्पादनको परिमाणबारे मंसिर २ गतेभित्र गढवा गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ। किसानले धानको परिमाणसहित विवरण टिपोट गराउनुपर्ने गाउँपालिकाले जानकारी दिएको छ ।
कम्पनीले तोकेको खरिद मूल्यअनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य ३ हजार ६६० रुपैयाँ रहेको छ।
धान बिक्री गर्न किसानले नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, बैंक खाता प्रमाणित हुने चेकको प्रतिलिपि र कृषि विकास शाखाको सिफारिसपत्र पेस गर्नुपर्नेछ।
धान बिक्रीका लागि ल्याउँदा पानीले नभिजेको, निफनी, केलाइ र सुकाइ गरी सफा गरिएको एकै किसिमको धान ल्याउनुपर्ने गाउँपालिकाको भनाइ छ । किसानले आफ्नो पालो वा तोकिएको समयअनुसार भिडभाड नहुने गरी धान बिक्री गर्नुपर्नेछ।
त्यस्तै, कम्पनीले तोकेको गुणस्तर मापदण्डभन्दा बाहिरको धान खरिद गर्न कम्पनी बाध्य नहुने गाउँपालिकाले स्पष्ट पारेको छ।
गढवा गाउँपालिकाको कृषि विकास शाखाले किसानलाई समयमै उत्पादनको विवरण टिपाउन र तोकिएको मापदण्डअनुसार धान बिक्रीका लागि ल्याउन आग्रह गरेको छ।



