काठमाडौँ । कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पुनः हिरासत पुग्ने देखिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोगमा मुद्धा दर्ता भइसकेको छ ।
लामिछानेले शुक्रवार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने गरी कागज गरेर छुटेका कारण उनी आज अदालतमा उपस्थित हुनैपर्छ । अदालतमा उपस्थित नभए पनि उनले उपस्थित हुन चाहेको भन्दै अदालतमा निवेदन पेश गर्नुपर्छ ।
काठमाडौँ जिल्ला अदालतका अनुसार यसरी कुनै पनि मुद्धामा अदालतमा उपस्थित हुने जनाउ दिएपछि अदालतले इजलास गठन गरेर मात्र थुनछेक प्रयोजनका लागि बयान लिने र बहस हुने प्रकृया चल्छ ।
काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार रवि स्वयं या कानुन व्यवसायीमार्फत निवेदन दिएपछि मात्र गोला प्रथामार्फत थुनछेकको मुद्दा हेर्न इजलास तोकिन्छ ।
उनका अनुसार अहिलेसम्म रवि या उनका कानुन व्यवसायीमार्फत अदालतमा उपस्थित हुन पत्र दर्ता भइसकेको छैन ।
आज पत्र दर्ता भए आइतवार बयानका लागि इजलास तोकिनेछ । अदालतका अनुसार रवि स्वयं उपस्थित भएमा पनि आज इजलास गठन भएर बयान सुरु हुदैन ।
रवि कास्की जिल्ला अदालतमा उपस्थित भएर बयान दिन र उनका तर्फबाट कानुनव्यवसायीले ३ दिन लामो बहस गरे ।
काठमाडौँमा पनि उनको बयान लिने र बहस प्रक्रिया सक्न कम्तीमा २ दिन लाग्छ । तर अदालतमा रवि उपस्थित भएपछि उनलाई इजलासले आदेश जारी नगरेसम्म परिवारको जिम्मामा छाड्न नमिल्ने भएकाले उनी पुनः हिरासतमै पुग्ने श्रेष्तेदार शर्मा बताउँछन् ।
इजलासले आदेश दिएर सो आदेशअनुसार नभएसम्मका लागि अदालतमा उपस्थित भए पनि पुन प्रहरीकै जिम्मामा अभियुक्तलाई पठाउनुपर्ने कार्यविधि रहेको उनको भनाइ छ ।