Odapalika - The Fourth Estate - चौथो अंग
पौवादुङमा गाउँपालिकामा उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम, यसरी पाइन्छ अनुदान

काठमाडौ । भोजपुरको पौवादुङमा गाउँपालिकामा उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम सुरुआत भएको छ । उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम सुरुआत भएको हो । 

कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षलागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परीक्षण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ ।  

कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी कूल  ७५ लाख रुपैयाँको लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

यो कार्यक्रम अन्तर्गत उद्यमीहरुको छनोट, सशक्तीकरण, व्यावसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उनको भनाइ छ । कार्यक्रम अन्तर्गत यहाँका उद्यमीहरुको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणको लागिसमेत प्रोत्साहन गरिने पालिकाको भनाइ छ ।

 प्रारम्भिक चरणमा ४० उद्यमी छनोट गरिने र त्यसबाट क्रमशः २० र १० गरेर उत्कृष्ट दश जना उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि आवश्यक सहयोग गरिने अधिकृत भट्टराईले बताए ।

नमूना कार्यक्रमका रुपमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा मात्र कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यो कार्यक्रम भोजपुरको पौवादुङमा गाउँपालिका, खोटाङको एँेसेलुखर्क गाउँपालिका, इलामको फाक्फोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकामा मात्र पाइलट प्रोजेक्टका रुपमा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । 

कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नको लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । 

यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवद्र्धन तथा विकासको क्षेत्रमा काम गरिने गाउँपालिकाले जनाएको छ । छनोटमा परेका उद्यमीलाई ५० प्रतिशत अनुदानमा मागको आधारमा प्रविधिसमेत हस्तान्तरण गरिने गाउँपालिकाको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update