Odapalika - The Fourth Estate - चौथो अंग
बाँकेका ३ स्थानीय तहका दमकललाई ८ वटै पालिकामा परिचालन गर्ने यस्तो छ गृहकार्य 

काठमाडौँ । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका ८ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार दमकलको जनशक्तिको व्यवस्थापनमा खास ध्यान दिएको उल्लेख गर्दै चौबीसै घण्टा परिचालनका लागि दमकललाई तयारी अवस्थामा राखिएको छ । ८ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा दमकल छैनन् ।  जिल्लाका ३ स्थानीय तहसँग मात्र दमकल छ । नेपालगन्ज उपमहानगरपालिकामा ३, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक–एकवटा दमकल छ । 

त्यसैगरी, नेपालगन्ज विमानस्थालमा दुई र नेपाल आयल निगम राँझामा एउटा मात्र दमकल छ । यही दमकलले जिल्लाभित्र र बाहिर आगलागी भएमा आगो निभाउँदै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दमकलसँग सम्बन्धित व्यक्ति र सुरक्षा निकायको मुख्य समूहलाई फायर इमर्जेन्सी र फायर फाइटिङसम्बन्धी तालिमको व्यवस्था गर्न प्राविधिक सहयोगका लागि डिएलएसएले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले गर्मीयाम सुरु भएसँगै आगलागी तथा डढेलोका घटना बढ्ने जोखिम रहेकाले त्यसको नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सो बैठकले यही चैत २७ गते राति आएको हुरीबतास तथा २७ र २८ गते भएको वर्षाले पुर्याएको क्षतिबारे बैठकमा जानकारी आदानप्रदान गरिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update