
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–९ द्वारा ज्येष्ठ नागरिकलाई चितवन, तनहुँ र नवलपरासीको त्रिबेणीमा रहेको देवघाटमा तिर्थ यात्रा गराइएकोे छ ।
४ वटा पर्यटकीय बसमा वडा सदस्यहरू शशिधर पोखरेल, सरिता पोखरेल, बेली सुर्खेती, कुमार बयलकोटी र वडा सचिव नारायण कुमार श्रेष्ठको नेतृत्वमा कर्मचारी, स्वास्थ्यकर्मी र स्वयम्सेविका समेतको सहयोगमा ८५ जना ज्येष्ठ नागरिकलाई तीर्थाटन गराइएको वडा सचिव नारायण कुमार श्रेष्ठले जानकारी दिए ।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक गाडीमा औंषधीदेखि स्वास्थ्यकर्मी, खाजा, फलपूmलको समेत व्यवस्था गरिएको थियो । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी आद्यात्मिक सेवा दिइरहेका आश्रममा खाना र वासको राम्रो व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बुढेसकालमा टोलछिमेकमा पुराना दौतरीसँग ऐतिहासिक भूमि देवघाटको भ्रमण गर्न पाउँदा जेष्ठ नागरिकहरू हर्षित भएका छन् ।
देवघाट कालीगण्डकी र त्रिसुली नदीको संगमस्थल हो भने दुवै नदी मिसिएपछि नारायणी नदी बन्दछ । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल मात्र नभएर चितवन, तनहुँ र नवलपरासी जिल्लाको संगमस्थल भएकाले यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व छ ।
नगर प्रमुख हरिगोबिन्द श्रेष्ठ, नगर उप प्रमुख लक्ष्मी महर्जनले ज्येष्ठ नागरिकहरुलाई शुभयात्रा सहित सफल भ्रमणको शुभकामना दिंदै बिदाइ गरेका थिए ।
८२ वर्षीय रामनाथ शर्मा पौडेल ९ नम्बर वडा कार्यालयले आयोजना गरेको तीर्थाटन कार्यक्रमलाई ज्येष्ठ नागरिकलाई सामूहिक भेटघाट र सामूहिक यात्राको व्यवस्थापन गर्नु अति महत्वपूर्ण भएको स्मरण गर्दै बाल्यावस्थामा एउटै धारा पँधेरामा पानी भर्ने गरे पनि समय परिस्थितिअनुसार भेटघाट नभएको अवस्थामा ज्येष्ठ नागरिकले एक आपसमा विचार आदान प्रदान, भेटघाट र परिचयमा थप निखारता ल्याएको बताए ।
शिक्षासेवी एवम् रेडियो नेपालको धार्मिक कार्यक्रमका पूर्वप्रस्तोता ६८ वर्षीय हरिहर पोखरेलका अनुसार वडा कार्यालयले सबै क्षेत्र वर्ग, लिङ्गका ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउदा वडा कार्यालयले समाजमा सबै मान्छेले विविध क्षेत्रमा रुचि राख्ने भएकोले सबै पक्षलाई सम्पूर्णरुपमा व्यवस्थित गरेको पाइएको बताए ।