
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा सुनुवाइका लागि २० पटक पेशीमा चढे पनि टुंगिन सकेको छैन ।
विशेष अदालतले १७औँ पटकको पेशीपछि बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दालाई निरन्तरको सुनुवाइमा लगेको थियो । तर निरन्तर ३ दिनको सुनवाई पछि न्यायाधीशहरुले पुनः साक्षीको बकपत्र गराउने आदेश दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ चैत २०८० मा मेयर थापाले भ्रष्टाचार गरेरअ कुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
त्यसयता यो मुद्दा २० पटक पेशीमा चढिसकेको छ । २ बैशाखबाट भने अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यहरु तेजनारायण सिंह रार्ई र विदुर कोइरालाको इजलासमा निरन्तर बहस सुरु भए पनि ७ बैशाखमा इजलासले साक्षी वकपत्र गराउन छुटेको देखिएको भन्दै वकपत्र गराउने आदेश दिएको छ ।
यो आदेशसँगै अब यो मुद्दाको सुनुवाई पुनः एकपटक लम्बिएको छ । मुद्दा दर्ता भएपछि पहिलो पटक ३१ असार २०८१ मा सुनुवाई भयो । विशेष अदालतले त्यसवेला ‘बुझने आदेश’गरेयता यो मुद्दा २० पटक पेशीमा चढेको छ । ३ पटक त न्यायाधीशहरुले साक्षी बुझ्ने आदेशमात्रै गरिसकेका छन् ।
आयोगले सार्वजनिक पद दुरुपयोग गरी मेयर थापाले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
मेयर थापाले २०७४ को असोज ७ गतेदेखि २०७९ माघ २९ गतेसम्ममा आम्दानी ७ करोड ४६ लाख ५० हजार २०१ रुपैयाँ आम्दानी गरेको र १३ करोड २० लाख ३ हजारभन्दा बढी खर्च गरेको अख्तिायरको दाबी छ । मुद्दा दर्ताभएपछि मेयर थापा स्वतः निलम्बनमा छन् ।