Odapalika - The Fourth Estate - चौथो अंग
संवादमार्फत पाथिभरा केवलकार निर्माणको पक्षमा उभिए पहिचानवादी युवा संगठनहरु 

काठमाडौँ । पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको विषयलाई द्वन्द्वभन्दा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार रहनुपर्ने बताएको हो ।

संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवाहरू तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकासविरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताए ।

सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको बताए । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ छ ।

सबै पहिचानवादी समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरेपछि मात्र वार्ता र संवादबाट समाधान निस्किने उनको भनाइ छ । आन्दोलनमा अलगअलग समूह रहेकाले सार्थक वार्ता हुन नसक्दा समस्या बल्झिएकाले जनस्तरमा रहेको वास्तविक समस्या बुझेर समस्याको समाधान निकाल्न सकिने अध्यक्ष चोङवाङको भनाइ छ ।

केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने भन्दै पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घसंस्थासँग वार्ता र संवाद हुनुपर्ने अध्यक्ष चोङवाङको भनाइ थियो ।

सरकारले सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नुपर्ने र त्यसले मात्र समाधान दिन सक्ने भनाइ पहिचानवादी युवाहरूको छ । 

लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बूको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको संवद्र्धनका ग्यारेन्टी हुनुपर्ने बताए । उनले विश्वका अधिकांश राजनीतिक आन्दोलन वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्ने धारणा राखे ।

पहिचान र विकासलाई सँगसँगै लैजानुपर्छ भन्ने पक्षमा आफ्नो धारणा राख्दै अबको विकास मोडिलाटी सम्बन्धमा थप छलफल र बहस गर्नुपर्ने माग पनि गरे । पहिचानका लागि युवाका केन्द्रीय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनुपर्नेमा जोड दिए ।

पहिचानवादी युवाहरूका संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माणलाई अघि बढाउन सबै पक्षसँग अपिल गरिरहेको बताए ।  राज्यले सबैलाई वार्तामा बोलाउने र केबलकार निर्माण कम्पनीले पनि आफ्नो धारणा जनस्तरमा लैजाँदा समस्या समाधान हुने विश्वास उनीहरुको देखिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update