
काठमाडौँ । आज मातातिर्थ औँशी । अर्थात आमाको मुख हेर्ने दिन । आमालाई सकेसम्म मिठो मसिनो खुवाउने दिन र आमा नहुनेहरुले आमा सम्झने दिन ।
औँशीको दिन चन्द्रमा देखिदैन । चन्द्रमामा कालो छाँया हुन्छ । त्यसैले सूर्यास्तपछि कालो रात सुरु हुन्छ । चन्द्रमा देखिने भए उज्यालो हुने थियो ।
आमाले आफ्ना सन्तानलाई सधै उज्यालो देखाउँछिन् । सन्तानको उज्ज्वल भविष्यका लागि तन, मन, धन, बचन, कर्मलगायत सबै उपायले प्रयत्न गर्छिन् । आमा आफ्ना सन्तानको जीवनमा सधै उज्यालो देख्न चाहन्छिन्, उज्यालोको काम गर्छिन् ।
तर, आमा सम्झने दिन किन कालो औँशीमा ? यो प्रश्न हामीले नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईलाई सोधेका छौं । उनले आमा मात्रै नभए पितालाई सम्झने दिन पनि औशी (कुसे औँशी) मै पर्ने जानकारी दिदै यसमा किंबदन्ती र शास्त्रीय मान्यता दुबै रहेको बताए ।
उनले आमामो मुख हेर्ने दिन विशेष गरेर नेवारी संस्कृतिबाट आएको जानकारी दिए । यसका पछाडि एउटा किंवदन्ती रहेको उनले सुनाए ।
किंवदन्ती यस्तो रहेछ–
एउटा गोठालो गाई चराउदै गर्ने क्रममा मातातीर्थको एउटा पँधेरोमा पानी खान पुग्छ । केही वर्षअघि नै उसको आमाको निधन भइसकेको हुन्छ । तर, उसले पानी खाने क्रममा त्यो पँधेरेको पानीमा आफ्नी आमाको स्पष्ट छायाँ देख्छ । ऊ छक्क पर्छ ।
फर्केर आएपछि उसले मातातीर्थको सो पधेरोको पानीमा आमाको छायाँ देखेको अरुलाई सुनाउँछ । उसले आमाको छायाँ देखेको दिन बैशाख कृष्णपक्षको औँशीको दिन नै थियो । अर्थात आजकै तिथि । त्यसपछि बैशाख कृष्ण औँशीको दिन मातातीर्थमा गएर आमाको स्मरण गर्ने चलन सुरु भयो । नेवारी संस्कृतिबाट आएको यो चलन व्यापक बन्यो । र, बैशाख कृष्ण औशी मातातीर्थ औँशीको रुपमा स्थापित भयो । आमाको मुख हेर्ने औँशी बन्यो ।
सहप्राध्याक डा. भट्टराईले हिमवत खण्डमा मातातीर्थ औँशीबारे उल्लेख भएको जानकारी दिए । यस्तै, मनु लगायतका स्मृतिमा पिताभन्दा १० गुणा पुजनीय मातालाई भनिएको पनि उनले सुनाए ।
‘जुन सस्कृतिबाट आए पनि मातापितालाई स्मरण गर्ने, श्रद्धा व्यक्त गर्ने, आदर सम्मान गर्ने जस्ता कार्य नराम्रा होइनन् । यी राम्रा र असल कार्य हुन् । राम्रा र असल कार्य भएकोले सबैले अनुसरण गरेका हुन्,’ डा. भट्टराईले वडापालिकासँग भने ।
किन औँशीमै पर्छ बाबुआमाको मुख हेर्ने दिन ?
मातातीर्थ औशी आमाको मुख हेर्ने दिन हो भने कुसे औँशी बाबुको मुख हेर्ने दिन हो । कुसे औँशीलाई गोकर्णे औँशी पनि भनिन्छ ।
आमाले मात्रै होइन, बाबुले पनि आफ्ना सन्तानको उज्जव भविष्यको नै कामना गर्छन् । बाबुको स्मरण गर्ने वा बाबुको मुख हेर्ने दिन पनि औँशीमै पर्छ । पितालाई पितृको प्रतिकको रुपमा स्वीकार गरिएकोले औँशीको दिनमा बाबुको मुख हेर्ने वा स्मरण गर्ने गरिएको डा. भट्टराईले बताए ।
त्यसो भए पितृको स्मरण चाहीँ किन कालो औँशीमा ? उज्ज्यालो पूर्णिमाको दिन पितृ स्मरण गर्ने चलन किन चलेन ? हामीले डा. भट्टराईसँग फेरि यो प्रश्न गर्यौं ।
यो प्रश्नमा उनले ब्रम्हाण्डको अवस्थितिको विषयमा बताए ।
‘मान्छे बस्ने लोक (पृथ्बी) चन्द्रमाको एकातिर छ भने पितृको लोक चन्द्रमाको अर्काेतिर छ । यसो हुँदा पृथ्बीलोकमा औँशी परेको बेलामा पितृलोकमा पूर्णिमा परेको हुन्छ । अर्थात यता अध्यारो हुँदा उता उज्ज्यालो हुन्छ । त्यसैले पितृलोकमा उज्यालो हुने दिन पारेर पृथ्बीलोकको औशीमा पितृलाई स्मरण गर्ने गरिएको हो,’ डा. भट्टराईले भने ।