पालुङटार- पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) संचालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट बिभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो । पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले, धाराचौतारो, लुइँटेल, हवाइग्राउण्ड प्रहरी बिट र पौवाटारमा अटो संचालन हुने छ । पौवाटारबाट सेरा, बिमलनगर र बिरुवाटार चल्ने छ ।
बिरुवाटारबाट फेदी जुडीखोला, रातमाटे, दुभार र नयाँपुल पुग्ने छ भने रातमाटेबाट बन्चरे दुबार नयाँपुल, अकला, सत्रसय, बिरुवाटार र मूलाबारीसम्म अटो संचालन हुने नगर प्रमुख विवश चिन्तनले बताए । सेराबाट पौवाटार र बिर्दी जाने उनले जानकारी दिए । ‘ढुङ्गेटारीबाट सेरा, सातदोवाटो, दश किलो र भट्टवेशीसम्म अटो चल्छ,’ उनले भने, ‘सातदोवाटोबाट पाउरोटी भण्डार, जोगी डिही, ढुङ्गेटारी, छेपेटार पुल र जोर्ती चौतारासम्म जाने गरी रुट निर्धारण गरेका छौँ ।’ जोर्ती चौताराबाट वडा नम्वर १ को कार्यालय, बिमिरे र सातदोवाटोसम्म अटो चल्ने उनले बताए ।
भौगोलिक हिसावले सहज ठाउँलाई समेटेर रुट निर्धारण गरिएको उनको भनाइ छ । ‘बढी उकालो र दुर्घटना जोखिम क्षेत्रमा रुट कायम गरेका छैनौ,’ उनले भने । अटो संचालनका लागि पालिकाले कार्यविधि बनाएर संचालन तथा व्यवस्थापन समिति पनि गठन गरिएको छ । भाडा निर्धारण समेत भइसकेको पालिकाले जनाएको छ ।
पालिकाका अनुसार पक्की सडकको हकमा तीन किलोमिटरसम्म प्रतिव्यक्ति ३५ रुपैया र त्यस पश्चात प्रतिकिमि १० रुपैयाका दरले थप हुदैँ जाने गरी भाडा तोकिएको छ । कच्ची सडकको हकमा भने तीन किमिसम्म ४५ रुपैया र त्यो भन्दा बढी भएमा प्रतिकिमी १५ रुपैयाका दरले भाडा थपिदै जाने बताइएको छ ।
रुट इजाजतका लागि सूचीकृत गर्न भन्दै पालिकाले सूचना जारी गरेको छ । सूचीकृत हुन आएकाहरुलाई रुट पर्मिटका लागि पालिकाले यातायात कार्यालयमा सिफारिस गर्ने मेयर चिन्तनले बताए । ‘रुट पर्मिट हामीले दिन मिल्दैन यातायात कार्यालयले दिने हो,’ उनले भने, ‘हामीले सूचीकृत हुन आएकाहरुलाई सिफारिस गरेर यातायात पठाउँछौ, त्यही आधारमा यातायातले रुट पर्मिट दिन्छ ।’
नगरभित्र कुल ५० वटा अटो संचालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । रुटका गाडी धेरै नचल्ने भएकाले पनि अटो आवश्यक रहेको उनको भनाइ छ । ‘रुटका गाडी धेरै नचल्दा स्थानीयलाई आउजाउ गर्न समस्या छ, त्यसलाई मध्यनजर गरेर सहज र सुलभ यात्राका लागि कार्यपालिकाबाट निर्णय गराएर अटो संचालन गर्न लागेका हौ,’ उनले भने । केही रुटमा अटो संचालन समेत भइसकेको उनले जानकारी गराए । गत बर्ष अटो चलाउने तालिम समेत निशुल्क संचालन गरिएको उनले बताए ।







