Odapalika - The Fourth Estate - चौथो अंग
अख्तियारको दायरामा आउन थाले ‘ठूला माछा’, ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जना विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला काण्डलाई अनुसन्धानको अन्तिम टुंगो लगाउन थालेको छ ।

अख्तियारले सानोतिनो भ्रष्टाचार काण्डका दोषीमाथि मात्रै कारवाही गर्ने गरेको तर ठूला काण्डप्रति बेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेको समयमा पछिल्लो समय ‘ठूला माछा’ पनि कारवाहीमा पर्न थालेका छन् ।

अख्तियारले आज मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले ५ जना पूर्वमन्त्रीहरु र १० जना सचिवहरुलाई प्रतिवादी बनाएर दायर गरेको हो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले ८ अर्ब ३६ करोड रुपैयाँ विगोसहितको मुद्दा दायर गरेको छ । 

अख्तियारले पूर्वमन्त्रीहरु डा. रामशरण महत, स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलगायलाई विपक्षी बनाएको छ ।

पूर्वमन्त्रीमध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ । उनी त्यसबेला पर्यटनमन्त्री थिए । त्यस्तै कांग्रेस नेता शामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा छैनन् ।

एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभा सदस्य थिए र उनी एमालेको उपाध्यक्षका दाबेदार समेत हुन् । पूर्वमन्त्री अमात्य पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव हुन् ।

रामकुमार श्रेष्ठ भने खिलराज रेग्मी नेतृत्वको सरकारको पर्यटनमन्त्री हुन् । 

अख्तियारले पूर्वसचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाएको छ । त्यस्तै, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।

अख्तियारले नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिसचन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएको छ । त्यस्तै तत्कालीन सचिव सुरेशमान श्रेष्ठ,कार्यदल संयोजक तथा सर्बोच्चका पूर्वरजिष्टार रामकृष्ण तिमल्सिनालाई पनि विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update