Odapalika - The Fourth Estate - चौथो अंग
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग,  प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा

काठमाडौँ । काठमाडौँ महानगरकापालिकाको प्रहरी बलले काठमाडौँ उपत्यका विद्युतीय तार भूमिगत गर्ने कार्यमा संलग्न भारतीय ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरलाई पक्राउ गरेको छ ।

तार भूमिगतको क्रममा धुलो उडेको र खाल्डा नपुरेको अभियोगमा प्रहरीले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीका प्रोजेक्ट म्यानेजर सेन्वाग प्रकाशलाई पक्राउ गरेको हो ।

महानगर प्रहरी स्रोतका अनुसार प्रोजेक्ट म्यानेजर प्रकाशलाई शुक्रबार विहान काठमाडौँको टंकेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ गरेपछि उनलाई महानगर प्रहरीको सुन्धारा कार्यालयमा लगिएको थियो ।

प्रोजेक्ट म्यानेजर प्रकाश नेपाली नागरिक होइनन् । उनलाई पक्राउ गर्नुअघि महानगर प्रहरीले पक्राउ पुर्जी लिएको थिएन ।

‘तार भूमिगत गर्ने क्रममा धुलो उडेको छ, खाल्डा पुरेको छैन । फोहोर व्यवस्थापन नगरेको कारण वातावरण ऐन अनुसार समातेर ल्याइएको हो,’ महानगर प्रहरी स्रोतले वडापालिकासँग शुक्रबार दिउसो भनेको थियो ।

वातावरण ऐन अनुसार पक्राउ गर्नको लागि पक्राउ पुर्जी लिइरहने समय नहुने प्रहरीको दाबी थियो ।

‘अहिले यही कसैले फोहोर गरिहाल्यो भने उसलाई तुरुन्तै समाउनु पर्ने हुन्छ, त्यसैले यस्तो कसुरमा पक्राउ पुर्जी लिइराख्ने समय नै हुँदैन, अब उहाँ (प्रोजेक्ट म्यानेजर प्रकाश) ५ लाख जरिवाना तिरेर छुट्न सक्नुहुन्छ, होइन भने हामी जनपथ प्रहरीलाई जिम्मा लगाउँछौं,’ महानगर प्रहरी स्रोतको भनाइ थियो ।

यद्यपि, महानगर प्रहरीले उनलाई सार्वजनिक सम्पत्ती क्षति पुर्याएको अभियोगमा जरिवाना तिराएको छ । आज पक्राउ गरिएका प्रोजेक्ट म्यानेजर प्रकाशलाई जरिवाना वापतको रकम बराबर चेक काट्न लगाएर छोडिएको स्रोतले जानकारी दियो ।

‘सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको अभियोगमा ५ लाख जरिवाना लिएर छोड्ने सहमती भयो, उहाँ (प्रोजेक्ट म्यानेजर प्रकाश) पनि जरिवाना तिर्न तयार हुनुभयो । अनि आइतबार साटिने चेक लिएर छोडियो,’ स्रोतले भन्यो ।

काठमाडौँ महानगर प्रहरी बलको फेसबुक पेजमा पनि यससम्बन्धी सुचना राखिएको छ ।

‘काठमाडौ महानगरपालिका क्षेत्र भित्र भूमिगत विधुतिय लाइन विस्तार गर्ने क्रममा सार्वजनिक सम्पत्तिमा क्षेति पुग्ने गरी निर्माण कार्य गरेको हुँदा चेतन इन्जिनियरिङ प्रा लि र केइएल इन्टष्ट्रिज लिमिटेडलाई महानगर प्रहरी बलबाट जनहि रू पाँच लाखको दरले जरिवाना गरिएको छ,’ सुचनामा उल्लेख छ ।

चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो । 

अर्काे कम्पनी केइएल इन्ठष्ट्रिज लिमिटेड पनि भारतीय कम्पनी हो । यो कम्पनीले विद्युतीय तार लगाउतका उपकरण उत्पादन गर्ने गर्छ । यो कम्पनी पनि नेपालमा विद्युतीय तार भूमिगत कार्यमा संलग्न छ । 

नेपाल विद्युत प्राधिकरणले ग्लोबल टेण्डर गरी काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगतको कार्य ३ वटा भारतीय कम्पनीलाई दिएको छ । त्यसमा एलएण्डटी, केइएल र टाटा हुन् । काठमाडौँ महानगर प्रहरीले दुई भारतीय कम्पनीलाई समातेर जरिवाना तिराए पनि अर्काे कम्पनी टाटालाई भने कारवाही गरेको छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update