
काठमाडौँ । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न देशभरका ५६ पालिकामा अध्ययन सुरु भएको छ । प्लास्टिकजन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका ५६ पालिकामा अध्ययन थालिएको हो ।
अनुसन्धानको जिम्मा पाएको अभ्नी दिगोपना केन्द्रका इन्जिनियर गगन शर्माका अनुसार गण्डकी प्रदेशका ५ सहित देशभरका ५६ स्थानीय तहमा एकैसाथ अध्ययनको काम भइरहेको छ । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा ६ महिनाभित्र काम सक्नेगरी अध्ययन सुरु भएकाउनको भनाइ छ ।
यसअघि सन् २०१३ मा एसियाली विकास बैङ्क र २०२० मा विश्व बैङ्क प्लास्टिकजन्य फोहोरको विषयमा नेपालमा पहिलोपटक अध्ययन गरिएको थियो ।
देशभरका ५६ पालिकामा ४ समूह बनाएर अध्ययन भइरहेको छ । असारभित्र प्रतिवेदन तयार पार्ने लक्ष्यका साथ इन्जिनियरदेखि फोहोर व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता खटाइएको बताइएको छ ।
गण्डकी प्रदेशको पोखरा महानगरपालिका, वालिङ नगरपालिका, बागलुङ नगरपालिका, मङ्गला गाउँपालिका र घरपझोङ गाउँपालिकामा अध्ययन भइरहेको छ ।
प्रारम्भिक अध्ययनका क्रममा बागलुङ नगरपालिकामा कुल फोहरमा २५ देखि ३० प्रतिशत प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको देखिएको इञ्जिनियर शर्मा बताउँछन् ।